म्युजिक नेपाल अडियो भिजुअल (MNAV) द्वारा डल्बी एटमसमा मिक्सिङ गरिएको नेपालको पहिलो फिचर फिल्म ‘बाटुलो जून’
November 16, 2026
‘बाटुलो जून’ प्रदर्शनमा आएसँगै म्युजिक नेपाल अडियो भिजुअल (MNAV) ले आफ्नो नवनिर्मित डल्बी एटमस प्रमाणित स्टुडियो ‘सगरमाथा एटमस मिक्सस्टेज’ मार्फत् नेपाली चलचित्रको ध्वनि प्रस्तुतिमा नयाँ आयाम थप्ने प्रयास गरेको छ। अत्याधुनिक सिनेम्याटिक ध्वनि प्रविधि र अन्तर्राष्ट्रियस्तरको पोस्ट–प्रोडक्सन सुविधा नेपालमै उपलब्ध गराउने दिशामा यो एउटा महत्त्वपूर्ण कदम हो।
यस यात्रामा साथ र सहकार्यका लागि निर्देशकद्वय भुवन केसी र प्रदीप श्रेष्ठसहित अनमोल केसी, प्रिन्सी खतिवडा, गरिमा पन्त, जिया केसी र समीप्य तिमल्सेनाप्रति म्युजिक नेपाल हार्दिक आभार व्यक्त गर्दछ।
सगरमाथा एटमस मिक्सस्टेज तथा म्युजिक नेपाल अडियो भिजुअलमार्फत् डबिङ, संवाद सम्पादन, ध्वनि संयोजन, फोली, मिक्सिङ तथा मास्टरिङका साथै भिडियो सम्पादन र कलर ग्रेडिङलगायतका सम्पूर्ण पोस्ट–प्रोडक्सन सेवा एउटै छानामुनि उपलब्ध हुनेछन्। यससँगै नेपाली चलचित्रकर्मीले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय ध्वनि तथा पोस्ट–प्रोडक्सन हासिल गर्न देशबाहिरका स्टुडियोमा निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न सकिनेछ।
दर्शकहरूलाई ‘बाटुलो जून’ सिनेमा हलमै पुगेर हेर्न र सिनेमाको ध्वनिलाई नयाँ अनुभूतिका साथ अनुभव गर्न म्युजिक नेपाल आग्रह गर्दछ। किनकि उत्कृष्ट कथा केवल हेरिने मात्र होइन, उत्कृष्ट ध्वनिका साथ अनुभूत गरिनु पनि उत्तिकै आवश्यक छ।
सन् १९८२ मा स्थापना भएको म्युजिक नेपालले विगत ४४ वर्षदेखि नेपालको मनोरञ्जन उद्योगको विकासमा निरन्तर योगदान दिँदै आएको छ। पूर्वाधारमा लगानी, स्थानीय प्रतिभाको प्रवर्द्धन र चलचित्रको प्राविधिक गुणस्तर अभिवृद्धि नै उद्योगको दिगो विकासका महत्त्वपूर्ण आधार हुन् भन्ने हाम्रो विश्वास छ।
३२.१ च्यानल कन्फिगरेसनमा आधारित सगरमाथा एटमस मिक्सस्टेज डल्बी एटमस प्रमाणित सुविधासम्पन्न स्टुडियो हो। यसले नेपाली चलचित्रकर्मीलाई विश्वस्तरको थियट्रिकल पोस्ट–प्रोडक्सन प्रविधि र सुविधा आफ्नै देशमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
चलचित्रमा कथा जति महत्त्वपूर्ण हुन्छ, त्यसको प्रभावकारी प्रस्तुतिमा ध्वनिको भूमिका पनि उत्तिकै निर्णायक हुन्छ। भनिन्छ, ध्वनि कथाको आधा हिस्सा हो। तर हाम्रो क्षेत्रमा लामो समयदेखि चलचित्रको ध्वनि पक्षले अपेक्षित प्राथमिकता पाउन सकेको छैन। सगरमाथा एटमस मिक्सस्टेजजस्ता पूर्वाधारमार्फत् यही अवस्थालाई परिवर्तन गर्ने हाम्रो प्रयास हो।
Leave a comment