Music

“बाँचुञ्जेलीलाई” भन्ने गीत नै लताको अन्तिम गीत

२०७८ साल माघ २३ गते आइतबार सरस्वती पूजाका दिन प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भयो । भारत, मध्येप्रदेशको इन्दौरमा सन १९२९ को २८ सेप्टेम्बरमा पंडित दीनानाथ मंगेशकरको जेठी छोरीका रूपमा लता मंगेशकरको जन्म भएको थियो । उनको न्वारानको नाम हेमा थियो तर उनका पिताको एक नाटकमा लता नामक पात्राको भूमिका निर्वाह गरेपश्चात उनको नाम लता हुनपुग्यो । लता १३ वर्षकी हुँदा उनका पिताको निधन भयो । घरकी जेठी छोरी भएका कारण घरको जिम्मेवारी उनैमाथि आयो । उनले गायन र अभिनय गरी जीवन यात्रा अगाडि बढाउन थालिन् ।

सन् १९४२ मा पहिलो पल्ट मराठी चलचित्रमा आवाज दिइन् तर उनले गाएको त्यस गीतलाई त्यो चलचित्रमा समावेश गरिएन । यसरी गीत गाउँदै जाँदा सन् १९४९ मा आएर उनले हिन्दी चलचित्र ‘महल’ का लागि आवाज दिइन् । त्यसपछि भने उनले पछाडि फर्केर हेर्नु परेन । मूल भाषा हिन्दीमा हजारौँ गीत गाएकी उनले अन्य विभिन्न भाषाहरूमा पनि गीत गाएकी छिन । नेपाली गीतहरुको कुरा गर्दा म वि वि शाहको गीत “आकाशका तिरमिरे तारा” भारतका प्रख्यात सङ्गीतकार हेमन्त कुमारको संगीतमा स्वर किन्नरी लता मंगेशकरको आवाजमा पहिलो नेपाली गीत रेकर्ड भएको थियो । त्यसपछि सन १९६६ मा भारतीय प्रसिद्ध सङ्गीतकार जयदेवको संगीतमा नेपाली चलचित्र माइतीघरका लागि “जुन माटोमा मेरो तिमीलाई शुभकामना” बोलको गीत रेकर्ड भएको थियो । जसमा शब्द म वि वि शाहकै रहेको छ भने आवाज उनै स्वरकिन्नरी लताले नै दिएकी थिइन । यसरी आफ्नो सुरिलो सबैको मनलाई छुने आवाजले लता मंगेशकरले यति नै भन्न कठीन भएपनि ३० हजार भन्दा बढी नै गीत गाएको देखिन्छ । पछिल्लो १ दशकदेखि गायनमा उनी त्यति सक्रिय थिइनन् । नेपाली संगीतकार शिखर सन्तोष संगीत सिक्न र आफ्नो सांगीतिक यात्रा अगाडि लैजान मुम्वई पुगेका थिए । त्यहि क्रममा उनले सुरुवाती दिनहरुमा मराठी गीतहरुमा संगीत भर्ने काम गर्दा शिखर सन्तोषको संगीतमा बजुनाथ मंगेशकरसँग काम गर्ने अवसर पाए । जो उनी लताका भदा थिए । उनलाई मराठी गीत सिकाउन उनकै घरमा जाँदा लता अर्को कोठाबाट सुनिरहन्थिन् रे । यसरी लता मंगेशकरसँग भेटको सिलसिला सुरु भएको थियो रे । पछि सङ्गीत सिक्ने क्रममा उनका एक मित्र बने मयुरेस उनीसँग उनको राम्रो मित्रता थियो । पछि उनी लता मंगेशकरका सङ्गीतको सवै काम गरिदिने उनको मेनेजर जस्तो बनेपछि उनी मार्फत शिखर सन्तोषको लतासँग अलि नजिकसँग चीनजान बढ्यो र नेपाली गीतको कुरो हुन पुग्यो अनि यो गीतको सिलसिला अगाडि बढ्यो । कुरा भएको ८/९ बर्षपछि बल्ल गाउने कुरो भयो । अनि गीतकार आनन्द अधिकारीको शब्दमा संगीत भरियो र उनले गाउने कुरो पनि भयो तर कुरा गरेको लगभग ५ बर्ष पछि मात्र यो गीत रेकर्ड भयो ‘बाँचुञ्जेलीलाई’ गायक रामकृष्ण ढकाल र लता मंगेशकरको आवाजमा । जून गीत लताको जीवनलाई नियाल्दै उनैका लागि लेखेको बताउँछन गीतकार आनन्द अधिकारी । यो गीत लताकै घरमा रहेको सूरलता रेकर्डिङ्ग स्टूडियोमा रेकर्ड भएको हो । त्यसपछि भने लताले केही मन्त्र र भजनहरु बाहेक अरु गति नगाएको बताइन्छ भने भारतका विभिन्न मिडिया तथा ND TV का अनुसार “बाँचुञ्जेलीलाई” भन्ने गीत नै लताको अन्तिम गीत हो भन्ने ठहर भएको छ । र हालसम्म लताले ३ वटा नेपाली गीत गाएको देखिन्छ जसमा २ वटा गीतमा शब्द म वि वि शाहको रह्यो र यसमा सङ्गीत क्रमश हेमन्त कुमार र जय देवको दुवै भारतीय सङ्गीतकार थिए । लताको आवाज सजिएको “बाँचुञ्जेलीलाई” का सङ्गीतकार शिखर सन्तोष पहिलो नेपाली सङ्गीतकार बने जसको सङ्गीतको गीत नै लताको अन्तिम गीत बन्न पुग्यो ।

लता मंगेशकर आज हामीबिच यस संसारमा नरहेपनि उनको आवाज सदैव यस संसारमा गुञ्जिरहनेछ । उनको आत्माको चीरशान्तिका लागि हामी कामना गर्दछौँ । र, बाँचुञ्जेलीलाई गीत रेकर्डिङ्ग हुँदाका केही तस्वीरहरु र लता मंगेशकरको केही कुराहरुकासाथ केही झलकहरु यो Video मा । साथै उनले गाएका तीनवटै नेपाली गीतलाई तपाईंले MusicNepal को You Tube च्यानलमा हेर्नसक्नु हुन्छ ।

आकाशका तिरमिरे तारा

“बाँचुन्जेलीलाई” Bachunjelilai – Lata Mangeshkar & Ram Krishna Dhakal | Nepali Song

Making of “Bachunjelilai” By Lata Mangeshkar & Ram Krishna Dhakal” only on Music Nepal