सत्यमोहन जोशी

हार्दिक श्रद्धा–सुमन सत्यमोहन जोशी

संस्कृतिविद, भाषाविद, शताब्दि पुरुष सत्यमोहन जोशीको ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचार गर्दा गर्दै आज बिहान एक सय तीन बर्षको उमेरमा भएको निधनबाट हामी मर्माहित भएका छौँ । उहाँले म्यूजिक नेपालको संस्कृति सम्वद्र्धन तथा संरक्षण सम्बन्धी कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको थियो ।

नेपालमा औपचारिक रुपमा गुणस्तर सङ्गीतको शिक्षा होस् भन्ने क्रममा स्थापित नेपाल म्यूजिक सेन्टर ट्रष्टको स्थापना गरी जसमा सुरुवाती दिनदेखि नै अध्यक्ष पद ग्रहण गरी उक्त गुठी अन्तरगत सञ्चालित नेपाल सङ्गीत विद्यालय कक्षा सञ्चालनका लागि निर्माण गरिएको भवनको शिलान्यास देखि उद्घाटन समेत उहाँद्वारा नै भएको थियो । र, आजका दिनसम्म पनि उहाँ सोही पदमा कार्यरत भई एक महिना अगाडिसम्म पनि हामीलाई मार्ग निर्देशन गरिरहनु भएको थियो । नेपालमा औपचारिक शिक्षाको गुणस्तरिय पाठ्यक्रम हुनुपर्छ भन्ने मान्यता राख्नु हुने उहाँको पाठ्यक्रम बनाउनमा पनि योगदान रहेको छ ।

सत्यमोहन जोशीको एकल रचनामा ‘क्रान्तिका लहर’ नामक पहिलो एकल गीति एल्बम पनि म्यूजिक नेपालबाट प्रकाशित भएको छ । जसमा शिशिर योगी, कुन्ती मोक्तान, मेलिना राईको आवाज छ भने शिशिर योगी, शक्ति वल्लभ, आलोकश्री, राजकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ र राजनराज सिवाकोटीको सङ्गीत रहेको छ । यो एल्बममा ७ वटा गीतहरू समावेश छन् ।

यो गीति एल्बम उहाँको १००औँ जन्मोत्सवमा प्रकाशित गर्नकालागि तयार गरिएको भएता पनि उहाँको १०१औँ जन्मोत्सवका अवसरमा एक कार्यक्रमकाबीच यसको विमोचन भएको थियो । यस्ता ज्ञान र गुणैगुणले भरिपूर्ण शताब्दी पुरुषले धेरै कुरा दिएर, धेरै कुरा सिकाएर आफ्नो जीवन पूर्ण र सफल पारेर संसारबाट भौतिक चोलालाई विर्सजन गर्नुभयो ।

हामी म्यूजिक नेपाल परिवार तथा नेपाल सङ्गीत विद्यालय परिवार उहाँप्रति हार्दिक हार्दिक भावपूर्ण श्रद्धा–सुमन अर्पण गर्दछौँ र शोक सन्तप्त परिवारप्रति यस दुःखद घडीमा धैर्य धारण गर्न सक्ने क्षमता मिलोस भनि ईश्वरसँग प्रार्थना गर्दछौँ ।

शताब्दीपुरुष, संस्कृतिविद सत्यमोहन जोशीको आत्माले चीर शान्तिपाओस, उहाँको वैकुण्ठ बास होस ।

म्यूजिक नेपाल परिवार
अनामनगर