भर्खरै म्युजिक नेपालले नयाँ एप ल्याएको छ । के हो त्यो ?
यो भिडियो स्ट्रिमिङ सर्भिस हो । यसमा नेपाली चलचित्र, भिडियो संगीत (म्युजिक भिडियो), सांस्कृतिक भिडियो, लाइभ टेलिभिजन च्यानललगायत अन्य सांस्कृतिक क्रियाकलापका भिडियो सबै एकै ठाउँमा राखेर ग्राहकमाझ पु¥याउने प्रयास हो । यसलाई हामीले नाम दिएका छौं, ‘नेपाल अन डिमान्ड’ । मूलतः यो नेपालबाहिर रहेका नेपालीका लागि तयार गरिएको एप्लिकेसन हो । वास्तवमा नेपाली कला, संस्कृति र भाषाका विभिन्न प्रस्तुतिलाई विदेशमा बसोबास गर्ने नेपालीका हातहातमा पुर्याउने हाम्रो प्रयत्न हो ।
यो यूट्युबजस्तै हो ?
त्यस्तै भन्दा पनि हुन्छ । तर, यो एप्लिकेसनमा लाइभ टेलिभिजन च्यानल हेर्न पनि सकिन्छ । स्पष्टतः भन्ने हो भने यसमा भिजुअल इन्टरटेनमेन्ट, न्युज च्यानल, नेपाली सिनेमा तथा विभिन्न सांस्कृतिक फिचर हेर्न पाइन्छ । हामीले अधिकार लिएका नेपाली चलचित्र पनि दर्शकले यसैबाट हेर्न सक्नुहुन्छ । हामीसँग धेरै भिडियो छन् ।
वास्तवमा, आजको युगमा नयाँ प्रविधिले दिएको सम्भावनालाई प्रयोग गर्दै नेपाललाई बाहिर बसेका नेपालीमाझ पुर्याउने प्रयास हो भन्छु म । प्रविधिको पूरापूरा सदुपयोग गर्ने प्रयास हामीले गरेका हौं ।
यसको शुरुआत बेलायतबाटै किन गर्नुभयो ?
हामीले यो एप बेलायतबाट शुरु गर्नुका मुख्य दुइटा कारण छन् । पहिलो— नेपालीले विदेशी भूमि टेकेको पहिलो मुलुक बेलायत नै हो र आज पनि बेलायतमा धेरै नेपालीको बसोबास छ । दोस्रो— हाम्रो एपको प्रविधि पार्टनरको आधार क्षेत्र पनि बेलायतै हो । त्यसैले पनि हामीले यो एपलाई बेलायतबाट शुरु गरेका हौं । अक्टोबर १४ तारिखदेखि हामीले यो एप ग्राहकमाझ पुर्याएका छौं ।
यहाँ एउटा कुरा जोड्न मन लाग्यो । मलाई सम्झना छ, म्युजिक नेपालको प्रारम्भताका हामीले लोकदोहोरी गीतको क्यासेट चक्का उत्पादन गरेका थियौं । ‘पानको पात’ हिट थियो । त्यो समयमा बेलायत र भारतबाट नेपाल आउनुहुने गोर्खाली सैनिक दाजुभाइले त्यस्ता लोकगीतका क्यासेट प्लेयरमा हालेर बजाउँदै गाउँ घन्काउनुहुन्थ्यो । बिदा सकेर काममा विदेश फर्किंदा लोकदोहोरी गीतका क्यासेट किनेर लानुहुन्थ्यो । कतिपय ठाउँमा त्यस्ता क्यासेट ब्ल्याकमा पनि बेचिएको स्थानीय डिलरहरू बताउँथे । धेरै माग भएरै यस्तो भएको थियो । यसैबाट थाहा हुन्छ, विदेशमा बस्ने नेपालीले आफ्नो संस्कृतिलाई कत्तिको मन पराउँछन् । त्यसैले पनि विदेशमा बस्नुहुने नेपालीलाई अलिकति स्तरीय भिजुअल र सांस्कृतिक सामग्री दिऊँ भन्ने मानसिकताले ममा घर बनायो । त्यसैको परिणाम हो, यो एप ।
अहिलेलाई बेलायतमा मात्रै यो सुविधा दिनुभएको हो ?
हो । अहिलेलाई यो एप बेलायतमा बस्ने नेपालीले मात्रै प्रयोग गर्न सक्छन् । नेपालमा भने यो ब्लक हुन्छ होला । तर, कसैले बेलायतमै यो एप सब्सक्राइब गरेका छन् भने नेपाल आउँदा पनि यो एप चल्छ ।
बेलायतबाहेकका देशमा यो एप कहिले पुर्याउने सोच्नुभएको छ ?
यो एप्स लिएर हामी विश्वभरि नै जाने हो । भोलिका दिनमा यो अमेरिका, अस्ट्रेलिया, युरोप, खाडी मुलुक, अफ्रिका सबै मुलुकमा प्रयोग गर्न सकिने व्यवस्था मिलाउँदै छौं । समय आउनासाथ हामीले यो एपलाई विश्वका कुनाकुनामा ‘लन्च’ गर्नेछौं ।
उपभोक्ताले कति तिर्नुपर्छ यो एपका लागि ?
बेलायतका लागि अहिले हामीले ७.९९ पाउन्ड राखेका छौं । हामीले बेलायतमा पहिलो सात दिन निःशुल्क दिएका छौं । यसैलाई आधार मानेर अन्य देशमा पनि त्यही अनुरूपले दर तोकिनेछ ।
कत्तिको आशावादी हुनुहुन्छ यसबाट ?
म पूर्ण रूपमा आशावादी छु किनभने यसको प्रविधि एकदमै राम्रो छ । विषयवस्तुको प्रस्तुति पनि स्तरीय दिएका छौं । विदेश बस्नुहुने नेपालीले महिनाको १०–१५ डलर खर्च गरेर आफूले खोजेको नेपाली कला, संस्कृति र भाषाका विविध दृश्यात्मक परिकार हेर्न पाउने भएपछि नेपालीले नहेर्ने कुरा आउँदैन भन्ने लाग्छ । यसअघि पनि मैले अनुभव गरेको छु, मोबाइल फोनमा रिंगब्याक टोन सिस्टम लागू गर्दा विदेशमा त्यसको अत्यधिक मात्रामा प्रयोग भएको थियो । त्यसैले पनि म विश्वस्त छु । र, बेलायतमा शुरु भइसकेको छ । शुरुआत राम्रो छ ।
यो एपबाट आएको रकममध्ये केही रकम समाजसेवाका लागि खर्चने कुरा पनि उठेको छ नि !
हामीलाई के लाग्यो भने समाजका लागि हामीले पनि आफ्नो तर्फबाट केही गर्नुपर्छ । त्यसैले यो एपको ग्राहक शुल्कबाट आएको रकमको ७.५ प्रतिशत रकम हामीले ‘हेल्प नेपाल नेटवर्क’ मार्फत समाजसेवामा लगाउने निर्णय गरेका हौं । यो विषयमा हामीले सम्झौता पनि गरिसकेका छौं । ‘हेल्प नेपाल नेटवर्क’ एउटा पुरानो सामाजिक संस्था हो । यसले विभिन्न क्षेत्रमा समाजसेवाको काम गर्दै आएको छ । यसका क्रियाकलाप हामीले नजिकबाट नियालेका छौं । त्यसैले पनि हामी यससँग जोडिएका हौं । र अर्को कुरो— बेलायतबाट हामीले काम थालिरहेका छौं भने बेलायतमा बस्ने नेपालीसित निकट रूपमा जोडिएको संस्था हो, ‘हेल्प नेपाल नेटवर्क’ । त्यसैले यही संस्थाबाट सामाजिक कार्यमा किन सहयोग नगर्ने भनेरै सहकार्य गर्ने सम्झौता गरिएको हो ।
तपाईंहरूले प्रतिलिपि अधिकारका क्षेत्रमा के काम गर्नुभयो ?
हामीले प्रतिलिपि अधिकारका क्षेत्रमा पनि काम गर्यौं । कलाकारहरूको प्रतिलिपि अधिकारका लागि हामीले समय–समयमा आफ्नो तर्फबाट सक्दो कुरा उठाएका छौं । त्यसअघि नेपालका सर्जकहरूको प्रतिलिपिसम्बन्धी कुनै अधिकार नै थिएन । म आफैं कैयन् मुलुक पुगेर यो विषयमा बुझेको थिएँ । वास्तवमा प्रतिलिपि अधिकार एकदमै गहन विषय हो । तर, यसलाई सरोकारवालाहरूले गहन रूपमा लिएको देखिएन । ‘वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन’ नामक संस्थाले मलाई यो क्षेत्रमा काम गर्न भनेर बोलाएका थिए । सरकारी अधिकारीहरूले पनि त्यहाँ गएर तालिम लिए । तर, केही समयपछि तिनको सरुवा हुने र यो कुरै हराउने हुँदै गयो । यो स्थितिमा प्रतिलिपि अधिकारसम्बन्धी विशेष काम हुन सकिरहेको थिएन । त्यसैले उनीहरूले मलाई तालिम लिन आग्रह गरे । खासमा, एकपटक प्रतिलिपिकै विषयमा मेरो एउटा अंग्रेजी लेख प्रकाशित भएको थियो । त्यो उनीहरूले पढेछन् । अनि मलाई ‘तिमी आउँछौ तालिमका लागि ?’ भनेर सोधे । मैले पनि हुन्छ भनें । त्यसपछि यतातिर पनि लागें ।
प्रतिलिपि अधिकारले कुन–कुन क्षेत्र ओगट्छ ?
संगीतमात्रै होइन, कला, संस्कृति, साहित्य सबैको प्रतिलिपि अधिकार हुन्छ । प्रतिलिपिसम्बन्धी ऐन पनि हाम्रो पहलमा तयार भएको हो । हामीले त्यसका लागि धेरै मेहनत ग¥यौं । ‘कपिराइट प्रोसेसिङ सोसाइटी’ बनायौं । त्यसलाई म्युजिक नेपालमै अफिस दिएर राख्यौं । त्यो सोसाइटीमा संलग्न सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । अहिले म यो सोसाइटीको अध्यक्ष छु । यसअघि सदस्य–सचिव थिएँ । वास्तवमा प्रतिलिपि अधिकार ऐन ल्याउनलाई कपिराइट सोसाइटीले धेरै काम गरेको छ । रजिस्ट्रारको कार्यालय, रोयल्टी संकलन समाजको काम, अन्य धेरै विषयमा व्यवस्था मिलाइदिने काम गरेको छ यसले ।
कतिपय अवस्थामा सरकारले सहयोग नगर्ने रहेछ । त्यसका लागि फन्डिङको व्यवस्था गरिदिनु पर्ने रहेछ । म नर्वेमा म्युजिकको कोलाब्रेसन सम्बन्धी एउटा कामका लागि गएको थिएँ । त्यहाँ अनुरोध गरेर फन्डिङको व्यवस्था गरिदिएको थिएँ । अहिलेसम्म उनीहरूले यसका लागि फन्डिङ गरिरहेका छन् ।
संगीत क्षेत्रलाई अगाडि बढाउन अरु के–के काम गरिरहनुभएको छ ?
जबसम्म संगीतसम्बन्धी शिक्षा कक्षाकक्षामा पुग्दैन, तबसम्म हाम्रो संगीतको विकास हुन सक्दैन । हामीले कुनै पनि विषयमा व्यवस्थित हिसाबले काम गर्न सकेनौं भने त्यो चल्दैन । जस्तोः जंगलमा पाइने जडिबुटीको आधारमा मात्रै कुनै पनि कारखाना चल्दैनन् । त्यसका लागि विशेष रूपमा जडीबुटीको उत्पादन नै गर्नुपर्छ । त्यस्तै कुनै व्यक्तिमा विशेष क्षमता होला । ‘गड गिफ्टेड ट्यालेन्ट’ होला । तर, तिनले संगीतको तालिम र शिक्षा पाएनन् भने केही गर्न सक्दैनन् । त्यो क्षमता पछि गएर मासिन्छ । त्यसैले पनि संगीतको शिक्षा अनिवार्य छ भनेर म यसको प्रवद्र्धनमा लागेको हुँ । हामी एउटा स्कुलमा जोडिएका छौं । त्यो पूर्णतः ट्रस्ट हो । त्यसमा सत्यमोहन जोशी अध्यक्ष हुनुहुन्छ । रत्न शमशेर थापालगायतका विशिष्ट व्यक्तिहरू हुनुहुन्छ । संगीतलाई पनि आकर्षक करिअरका रूपमा विकास गर्नकै लागि यो गुठी सञ्चालित स्कुलको शुरुआत गरिएको हो । यसले गीत–संगीतमा लागेका कलाकारको क्षमतालाई माझ्ने काम गर्छ । तिनलाई चम्काउने काम गर्छ । त्यसैले स्कुलमा संगीत शिक्षा पु¥याउनका लागि हामीले पहल गर्यौं ।
सन् २०१२ सालसम्ममा स्कुलमा ऐच्छिक विषयका रूपमा संगीतको कोर्स राख्यो सरकारले । सन् २०१५ मा आएर व्यावसायिक तथा प्राविधिक शिक्षाअन्तर्गत ९ देखि १२ कक्षासम्म पाँच वटा इन्जिनियरिङ र कृषि विषय राख्यो भने छैटौं विषयमा संगीत । यसले संगीतप्रति रुचि भएकाहरुलाई सानै उमेरदेखि शिक्षित बन्ने वातावरण बन्ने निश्चित छ । पहिलो ब्याचले त एसएलसी दिएर पास पनि भइसक्यो ।
मूल रूपमा हामीले बाटो बनाउने काम गरेका हौं । पहिलो पटक काम गर्दा त गाह्रो त हुन्छ नै । तथापि, पाठ्यक्रम बनाउने काम गरिदियौं । संगीत शिक्षाका लागि हाम्रो लोकगीतलाई, जातीय संगीतलाई फोकस गरेर पाठ्यक्रम बनाइएको छ । पहिले पूर्वीय शास्त्रीय संगीत भन्थे र खाली शास्त्रीय संगीत पढाइन्थ्यो । आज त्यो परिवर्तन भएको छ । समयसापेक्ष पाठ्यक्रम बनाइएको छ । हामीले पश्चिमी संगीतलाई पनि ध्यान दिएर पाठ्यक्रम बनाएका छौं । मलाई लाग्छ, यसले नेपाली संगीतलाई समृद्ध बनाउनेछ । यसैले देशलाई पनि चिनाउनेछ । देशलाई धनी पनि बनाउनेछ ।
– प्रस्तुतिः राजेश खनाल