Music Nepal

निजीस्तरको पहिलो सङ्गीत उद्योग म्यूजिक नेपाल अब पहिलो लिमिटेड कम्पनी

‘स्रष्टाको संरक्षण गरौँ राष्ट्रलाई समृद्ध बनाऔँ’ भन्ने मूलमन्त्रका साथ २०३९ साल साउन २४ गते स्थापना भएको म्यूजिक नेपालले सुरुवाती दिनहरूमा गीत रेकर्डिङ गरेर श्रव्य एल्बमहरू प्रकाशन गर्दै नेपाली सङ्गीतको व्यावसायीकरण गर्ने महायज्ञलाई अगाडि बढायो । यात्राक्रममा यस संस्थाले विद्यामान विश्वबजारमा प्रयुक्त लगभग सबै डिजिटल प्रविधिहरू भित्र्याई नेपाली सङ्गीतलाई वैश्विक समकक्षमा उभ्याउन सफल भयो । नेपाली सङ्गीत उत्पादन र प्रकाशनमा झन्डै चार दशक लामो यात्रा गरिरहेको यही म्यूजिक नेपाल अब प्रा.लि.बाट लिमिटेड कम्पनीमा परिणत भएको छ ।

स्थापनाकालदेखि नै यस कम्पनीलाई माया र सद्भाव दिनुहुने वरिष्ठ स्रष्टा–कलाकार, राष्ट्रका प्रबुद्ध वर्ग, सञ्चालक, पत्रकार, श्रोता, कर्मचारीहरू तथा प्रत्यक्ष–परोक्षरूपमा सहयोग पुर्याउनु हुने अन्य महानुभावहरूको साथ र योगदानले नै यो कम्पनी यसरूपमा पुग्न सम्भव भएको हो ।

अब म्यूजिक नेपालले IPO निष्कासन गर्ने सम्बन्धमा एनआइसी एसिया क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत म्यूजिक नेपाल लिमिटेडले साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि एनआइसी एसिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रवन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न गरेको छ । यो IPO को निष्कासनसँगै म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने सङ्गीतक्षेत्रको पहिलो कम्पनी बन्ने छ । जसले गर्दा भावी दिनहरूमा यस कम्पनीसँग आवद्ध हुन इच्छुक सम्पूर्ण स्रष्टा–कलाकार तथा सङ्गीतप्रेमी महानुभावहरूका लागि नयाँ सम्भावनाको ढोका खुल्ने छ ।

देश तथा विदेशमा बस्नु हुने हाम्रा समस्त स्रष्टा–कलाकारहरू, हामीसँग जोडिनुभएका सम्पूर्ण पार्टनर कम्पनीहरू, हाम्रा सेवाग्राही दर्शक–श्रोताहरू तथा हाम्रा सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै यो जानकारी गराउँदा हामी अत्यन्त गौरवान्वित अनुभव गरिरहेछौँ । र, सबैबाट भविष्यमा पनि यस्तै साथ र सहयोग अपेक्षा गर्दछौँ ।
धन्यवाद !

म्यूजिक नेपाल लिमिटेड
अनामनगर, काठमाडौँ ।